
धादिङको सिद्धलेक गाउपालिकाले गाउपालिका भित्रका जेष्ठ नागरिक र महिलाहरुको स्वास्थ्यको लागि नयाँ कार्यक्रम ल्याउने भएको छ । गाउपालिकाको बुधबार सम्पन्न आठौं गाउसभाले जेष्ठ नागरिकहरुको लागि जेष्ठ नागरिक स्याहार कार्यक्रम र महिलाहरुको लागि स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको हो ।
गाउपालिकाले ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको लागि घरघरमै पुगी निशुल्क स्वास्थ्य जाँच र औषधी वितरण गर्ने योजना बनाएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो । यस्तै महिलाहरुको स्त्री रोगसम्बन्धी समस्या समाधानको लागि गाउमै विशेषज्ञ डाक्टरहरुको सहभागितामा स्वास्थ्य शिविर संचालन गर्ने योजना आठौं गाउसभाले पारित गरेको शर्माले बताउनुभयो ।
यस्तै गाउसभाले यो वर्ष गाउपालिकाको आन्तरिक राजस्वमा गिरावट आएकोले वडागत योजना तथा कार्यक्रमहरु कम गरेको शर्माले जानकारी दिनुभयो । यी बाहेक बाँकी चालु योजना तथा कार्यक्रमहरु निरनतर संचालनमै रहने गाउसभाले निर्णय गरेको छ ।