३१ चैत्र, धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सल्लाघारीमा आगामी बैशाख ३ गतेदेखि हाट बजार संचालन हुने भएको छ । स्थानीय स्तरमा उत्पादित कृषि उपज र कृषिजन्य वस्तुलाइ बजारीकरण गरी स्थानीयको आय आर्जनमा वृद्धि गरी व्यावसायिक, आत्मनिर्भर बनाउनुका साथै स्थानीय उत्पादनलाइ प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्धेश्यका साथ हाट बजार संचालन गर्न लागिएको हो ।

बजारको आगामी बैशाख ३ गते एक कार्यक्रमको बीच नीलकण्ठ नगरपालिकाका उप-प्रमुख मनराज भण्डारीले उद्घाटन गर्ने नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा सचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा नीलकण्ठ नगरपालिका भीत्रका सबै वडा अध्यक्षहरुलाइ निमन्त्रणा गरिएको छ ।

यस अभियानमा सहयोग गर्न वडा कार्यालयले स्थानीय सहकारी संस्था, कृषक समूह, कृषक, राजनैतिक दल, वुद्धिजिवी, समाजसेवीहरुका साथै सबै वडाबासीहरुमा अपिल गरेको छ । २०७७ साल चैत्र १९ गते बसेको वडा कार्य समितिको बैठकले हाटबजार संचालन गर्ने निर्णय गरेको थियो । यस बजार संचालनबाट कृषकहरुको उत्पादनको बजारीकरण र प्रवद्र्धनका साथै उपभोक्ताले सुपथ मुल्यमा स्थानीय स्वस्थ र ताजा कृषि तथा कृषिजन्य उत्पादन उपभोग गर्ने वातावरण सिर्जना गर्नको लागि यो बजार अवधारणा ल्याएको पनि वडाले जनाएको छ ।

वडा कार्यालयले आफ्नो उत्पादन बिक्रिको लागि आवश्यक स्टल बैशाख २ गतेभीत्र बुकिङ गर्नको लागि सुचना जारी गरेको छ । स्टल बुकिङको लागि वडा कार्यालय ज्यामिरे, मुरलीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाको कार्यालय मुरलीभञ्ज्याङ, मण्डली बहुउदेश्यीय सहकारी संस्था लि. मुरलीभञ्ज्याङ, समता कृषि तथा पशुपालन सहकारी संस्था लि.ज्यामिरे, शितल चौतारा कृषि तथा पशुपालन सहकारी संथा लि. निगालपानी हटिया, ज्वालामुखी कृषि तथा पशुपालन सहकारी संस्था लि पाल्पाभञ्ज्याङ र प्रशन्न स्वास्थ्य आमा सहकारी संस्था लि ज्यामिरेमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ ।

Facebook Comments