
स्थानिय तहको निर्वाचन आउन अब ३३ दिन बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै राजनितिक दलहरु उम्मेद्वार चयन गर्न तथा चुनाव केन्द्रीत कार्यक्रम गर्न व्यस्त छन् ।
नेकपा एमाले सिद्धलेकले गाउँपालिकाको अध्यक्षमा पुनः प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कमला शर्मालाई नै उम्मेद्वार बनाउने निर्णय गरेको छ । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष सिलवाल र उपाध्यक्ष शर्माको नेतृत्वमा गाउँपालिकाले धेरै राम्रो काम गर्न सफल भएकाले फेरी उम्मेद्वार दो¥याउन लागेको नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटिले जनाएको छ । गाउँपालिका अध्यक्षको टिकट पाएसँगै प्रेमनाथ सिलवालले आफ्नो चुनावी एजेन्डाका साथ चुनावी तयारीमा जुट्नु भएको छ ।
खानेपानी, स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकतालाई आधार मानेर अघि बढ्न लागेको अध्यक्ष सिलवालले बताउनुभयो । ५ वर्षसम्म पुरा नभएका योजनाहरुलाई अबको ५ वर्षमा पुरा गर्ने उहाँले बताउनुभयो । खानेपानी, कृषि, पर्यटन जस्ता महत्वपूर्ण योजनाहरु अधुरा छन् उहाँले भन्नुभयो–‘यो शिर्षकमा जनतालाई के के गर्छु भनेको थिएँ, नेकपा एमालेले जितेको खण्डमा यि योजनाहरु आफुले पुरा गर्ने बताउनुभयो ।’
अध्यक्ष सिलवालले नयाँ चुनावी एजेन्डा नभएपनि आफुले थालनी गरेका योजनाहरुलाई पुरा गर्ने र जनताले देखिने गरि काम गर्ने बताउनुभयो । ६० किलोमिटर बाटो कालोपत्रे गर्ने, खानेपानी तथा कृषिको छुट्टै शाखा बनाएर कार्य गर्ने, उत्पादनमा आधारित कृषि अनुदानलाई निरन्तरता दिने योजना रहेको सिलवालले बताउनुभयो ।
यस्ता महत्वपूर्ण योजनालाई पूर्णरुवपमा कार्यन्वयनमा ल्याउन नेकपा एमालेलाई जिताउनुपर्ने उहाँले बताउनुभयो । सिद्धलेकमा एमाले सिद्धलेकले वडा ४ को अध्यक्षमा झक बहादुर मगर, वडा नम्बर ५ को अध्यक्षमा गोपाल बहादुर गुरुङ र वडा नम्बर ६ को अध्यक्षमा सुरेन्द्र मगरलाई उठाउने समेत निर्णय गरेको छ । यस्तै आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र नीलकण्ठ नगरपालिका–३ ले उम्मेदवारको टुङ्गो लगाएको छ ।
आईतबार बसेको वडा समितिको बैठकले नारायण कुमार श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । अध्यक्षका उम्मेद्वार श्रेष्ठ एम्बुलेन्स अंकलको नामले चर्चित हुनुहुन्छ ।