मंसिर १७ ।
नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी ओलीले सोमबार बैठक बोलाउनुभएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र उमेर हदले आगामी पुस १७ मा अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न सोमबार परिषद् बैठक बोलाइएको हो । बैठकले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ। न्याय परिषद्ले एक साताअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्लाई बुझाएको छ ।
प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ । जोशी र राणाबाहेक अरू न्यायाधीशको उक्त योग्यता पुगेको छैन । तर परिषद्मा नाम बुझाइएका दुई वरिष्ठतम न्यायाधीशमध्ये जोशी यसअघि संसदको सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत व्यक्ति हुनुहुन्छ । सुनुवाइ समितिबाट अनुमोदन भएपछि सिफारिस न्यायाधीशलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नुहुनेछ ।
प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष तथा सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख तथा कानुनमन्त्री सदस्य रहने प्रावधान छ ।











