१५ माघ, धादिङ ।
तमु गुरुङ हरुको साझा सामाजिक संस्था तमू ह्यूल छोंज धीं धादिङले ट्रक दुर्घटनाका घाइतेहरुको उपचारका लागि आर्थिक सहयोग गरेको छ । गत माघ ७ गते मंगलबार धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित मैदी भञ्ज्याङ नजिकै आईचर (ट्रक) दुर्घटनाका घाईतेहरुको उपचारको लागि आज रु.१ लाख ९२ हजार ८ सय ५६ रुपैंया आर्थिक सहयोग गरेको छ । काठमाडौंमा उपचार गराइरहेका घाइतेका आफन्तहरुलाइ अस्पतालमा नै भेटी नीलकण्ठ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ध्वज बहादुर गुरुङको रहोबरमा तमु ह्यूल छोज धीं धादिङका वरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ र उपाध्यक्ष गणेश गुरुङले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग रकम तमु ह्युल छोंज धीं धादिङ , तमुस्यो ह्यूल छोंज धीं र तमु विद्यार्थी छोज धी धादिङको सयुक्त अगुवाईमा सदरमुकाम धादिङबेसीमा रहि विभिन्न व्यापार, व्यवसाय र पेशा गरि बसेका गुरुङ समुदाय र अन्य सहयोगीहरुबाट संकलन गरिएको थियो ।

तमु ह्यूल छोज धीं धादिङले घाईतेहरुको छिटो र सहज उपचारको लागी केहि भए पनि राहत पुग्ने उद्देश्यका साथ आर्थिक सहयोग गरिएको वरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङले जानकारी दिनुभयो । तमु ह्यूल छोंज धीं धादिङले विभिन्न समयमा यस्तै आपत, विपत्तमा परेकाहरुका लागि आर्थिक तथा अन्य सामाजिक सहयोगहरु गर्दै आईरहेको छ । यता नेपाल सरकार गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट घाइतेहरुको सम्पूर्ण स्वास्थ्य उपचार निशुल्क गराउने बताए पनि हालसम्म सरकारी हस्पिटलमा उपचार गराइरहेका घाइतेहरुलाइ हस्पिटलबाट प्रदान गर्ने केहि सेवाहरुमा छुट दिएको र निजि हस्पिटलमा उपचार भएकाहरुले भने कुनै पनि किसिमको सहयोग नपाएको वडा अध्यक्ष ध्वज बहादुर गुरुङले जानकारी दिनुभयो ।

दुर्घटनामा परि घाईते भएका मध्ये १० जनाको हाल काठमाडौको विभिन्न हस्पिटलहरुमा उपचार भईरहेको छ । दुर्घटनामा नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित भूलभूले एकै गाउँका ७ जनाको दुखद निधन भएको थियो । भने अधिकांश घाइतेहरु पनि सोहि गाउँका छन् । ट्रक साहू नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पतेनी निवासी गकुल प्रसाद ढुङगाना र नीलकण्ठ २ का चालक सुब्बा गुरुङ अहिले प्रहरी नियन्त्रणमा रहेको छ । ट्रक साहुले घाइतेहरुको लागि उपचार खर्च नदिएका कारण अहिले घाईतेहरुको उपचारमा समस्या आएको घाइतेका आफन्तहरुले जनाएको छ । भने यता मृतकका आफन्तले ५० हजारका दरले क्रिया खर्च बापतको रकम बाहेक अन्य कुनै पनि प्रकारको सहयोग पाएको छैन् ।

Facebook Comments