जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई बागमती प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ ।

बागमती प्रदेश सरकारले तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई तीन करोडको चेक हस्तान्तरण गर्नुभएको हो ।

मुख्यमन्त्री पौडेलले रंगशाला निर्माण तीव्र गतिमा भइरहेको भन्दै धुर्मुस सुन्तलीले गरेको कामको प्रशंसा गर्दै सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो।

सामाजिक विकासमन्त्री युवराज दुलालले फेरि पनि सरकारका तर्फबाट सहयोग हुने बताउनुभयो। फाउन्डेसनका अध्यक्ष कट्टेलले सहयोग रकम बुझ्दै खुसी व्यक्त गर्नुभयो ।

सरकारले शुरूमा जग्गा उपलब्ध गराएको र अहिले आर्थिक रकम उपलब्ध गराएको भन्दै धन्यवाद समेत दिनुभयो । रंगशाला निर्माणमा दुई सय ३३ जनशक्तिले काम गरिरहेका छन्।

Facebook Comments