१२ बैशाख, धादिङ ।
केही दिन पहिले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै फेक सामग्री प्रकाशन गरेको विषयलाइ लिएर उज्यालो नेटवर्क अनलाईनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई आज प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिएको छ । उनीहरुलाई राज्य विरुद्धको कसुर र लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धाराबाट र अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कको कार्यालयबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

उक्त फेक सम्झौताको समाचार प्रकाशन पश्चात उज्यालो नेटवर्क अनलाइनले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफी समेत मागेको थियो । त्यस समाचार प्रकाशन पछि प्रहरीले नेटवर्कका सम्पादक बुद्ध लोप्चन सहितका पत्रकारलाई धरपकड शुरु गरेको थियो । अनिश तामाङ सहितका पत्रकारलाई समाचार प्रकाशनकै आधारमा धरपकड नगर्न उच्च अदालत पाटनले यस अघि अन्तरिम आदेश जारी गरेको थियो ।

Facebook Comments