
नेपाल सरकारले धादिङको १३ ओटा स्थानिय तह मध्ये सबैभन्दा धेरै बजेट निलकण्ठ नगरपालिकालाई विनियोजन गरेको छ ।
सरकारले अध्यादेश मार्फत शनिबार ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेट मार्फत निलकण्ठ नगरपालिकालाई ६३ करोड १ लाख बजेट विनियाजन गरेको हो । यस्तै १३ ओटा स्थानिय तह मध्ये सबैभन्दा कम बजेट रुविभ्याली गाउँपालिकालाई विनियोजन गरेको छ । रुविभ्याली गाउँपालिकालाई १६ करोड ४९ लाखको बजेट विनियोजन गरेको हो ।
यस्तै अन्य स्थानिय तह मध्ये धुनिवेशी नगरपालिकालाई ३७ करोड २८ लाख, खनियावास गाउँपालिकाको लागि २३ करोड ८६ लाख, गंगाजमुना गाउँपालिकाको लागि ३९ करोड ८७ लाख बजेट विनियोजन गरेको छ । यस्तै गजुरी गाउँपालिकाको लागि ३८ करोड १५ लाख, गल्छी गाउँपालिकाको लागि ३५ करोड २९ लाख, ज्वालामुखी गाउँपालिकाको लागि ३४ करोड ४५ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाको लागि ४० करोड ८ लाख, थांक्रे गाउँपालिकाको लागि ४५ करोड १५ लाख बजेट छुट्याएको छ ।
यसैगरि नेत्रावती डबजोङ गाउँपालिकाको लागि २३ करोड ८१ लाख, बेनिघाट रोराङ गाउँपालिकाको लागि ४५ करोड ९५ लाख र सिद्धलेक गाउँपालिकालाई ३७ करोड २५ लाख बजेट विनियोजन गरेको हो । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा धादिङमा ५ ओटा शिर्षक नै छुट्टाएर अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्नुभएको थियो ।
धादिङको गल्छी स्थित वेल्खुमा ट्रमा सेन्टरको स्थापना, रुविभ्यालीमा पत्थरको विशेष कार्यक्रम तथा पदमार्ग निर्माण, लामीडाँडामा लिफ्टिङ प्रविधिबाट खानेपानी, तथा वेनिघाट रोराङको मझिमटार देखी शक्तीखोर सुरुङमार्गको संभाव्यता अध्ययनको लागि बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिनुभएको हो ।
यता बजेटको आकार ठुलो भएकाले कार्यन्वयनमा आउन नसक्ने होकी भन्ने तर्फ स्थानियले अड्कल काट्न थालेका छन् । विगतका वर्षहरुमा पनि बजेट फ्रिज भएर जाने अवस्था सिर्जना भएकाले बजेट कार्यन्वयन तर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।
