२० असार, धादिङ । साउथ अष्ट्रेलियाको बहुसांस्कृतिक तथा जातजाति मामिला आयोगको सदस्यमा नेपाली चेली एडिलेडकी सामाजिक अभियन्ता मन्जु खड्का नियुक्त भएको छ । केहि समय अघि आयोगको पदाधिकारीका लागि साउथ अष्ट्रेलियन सरकारले बहुसांस्कृतिक समुदायका मानिसहरुबाट खुल्ला आवेदन माग गरेको थियो । आवेदकको पृष्ठभूमि, उनीहरुले समाजमा पुर्याएको योगदान तथा व्यक्तित्व मुल्यांकन गरेर आवेदकहरु मध्येबाट खड्कालाई सदस्यमा नियुक्त गरिएको हो । गत जुलाई १ तारिखमा साउथ अष्ट्रेलियन सरकारले जारी गरेको घोषणा अनुसार खड्का आयोगको सदस्यमा नियुक्त भएको हो । एक आयुक्त सहित १४ सदस्य रहने यो आयोगले राज्यको बहुसांस्कृतिक समाज र जातजातिका बारेमा प्रिमियरको सहायकमन्त्रीलाई प्रतिवेदन बुझाउने काम गर्दछ । यो आयोगले साउथ अष्ट्रेलिया राज्यका जातजातिको विविधतालाई प्रवर्धन गर्ने तथा बहुसांस्कृतिक समुदायको हकहित सम्बन्धि मामिलाका बारेमा सरकार र अन्य सार्वजनिक निकायलाई सल्लाहा, सुझाव दिने काम गर्दछ । यस आयोगका पदाधिकारीहरुको कार्यकाल आगामी तीन वर्षसम्म हुनेछ ।

नारी निकुञ्ज साउथ अष्ट्रेलियाकी संयोजक समेत रहनु भएकी खड्काले सामाजिक सेवामा आफुलाई समपर्ण गर्दै आएको छ । नेपालमा १५ वर्षसम्म विभिन्न सामाजिक संघसंस्थामार्फत महिला शसक्तिकरणमा सक्रिय भएकी मन्जु अष्ट्रेलियामा रहेर समेत सामाजिक कार्यमा सक्रिय छिन् । नेपाली विद्यालय साउथ अष्ट्रेलियाकी संस्थापक प्रधानाध्यापक समेत भएकी मन्जु नेपाली समुदाय बाहेक अन्य बहुसांस्कृतिक समुदायमा समेत सक्रिय हुदै आएकी छिन् । स्थानिय मेरियन काउन्सिलको सामुदायिक नेतृत्व विकासको गतिविधीमा समेत काम गरिरहेको छ । त्यस्तै केही वर्षदेखि बहुसांस्कृतिक महिला फोरमहरुमा समेत मन्जु सक्रिय छिन् । मन्जु पेशाले रजिष्टर्ड नर्सका रुपमा समेत अष्ट्रेलियामा कार्यरत छिन् । यो समाचार नेपाल ट्युवले प्रकाशन गरेको छ ।

Facebook Comments