पौष १५, धादिङ ।
धादिङको गजुरी गाउँपालिका वडा नम्वर ४ पुगुन भस्मेखर्कका २९ घरधुरीले घर घरमा खानेपानी पाएका छन् ।
एक घर एक धारा कार्यक्रम अन्तरगत पुगुन भस्मेखर्क आयोजना सम्पन्न भएपछि घण्टौ लगाएर पानी बोक्ने र कुवा, खोलीका पानी पिउने समस्या दुर भएको सम्झना तामाङले बताउनुभयो । पानी अभावका कारण मेलापात र घर धन्दामा समस्या थियो । अव भने हामी जस्ता दिदिबहिनीलाई सहज भएको छ उहाँले बताउनुभयो ।
त्यस्तै गरी, ठूलीमाया तामाङ पनि घरमा खानेपानी झर्छ भन्ने विश्वासै नलागेको बताउनुहुन्छ । घरकै धारामा पानी आउदा करेसाबारीमा सागपात लगाउन पाएका छौं । उहाँ भन्नुहुन्छ, खानेपानी आएपछि हरिया सागपात खान पाएका छौ । सरसफाइ गर्ने बानीको पनि विकास भएको उहाँले बताउनुभयो । 
पुगुन भस्मेखर्क खानेपानी आयोजना एक कार्यक्रमका विच आइतवार समुदायलाई हस्तान्तरण गरिएको हो । एक किलोमिटर टाढा ओडारे मुहान र ब्रह्माचारी मुहानबाट पानी लिएर २÷२ वटा ट्याङ्की र इनटेक बनाइ २९ घरधुरीलाई घर घरमा खानेपानी वितरण गरिएको खानेपानी उपचोक्ता समितिका अध्यक्ष जित बहादुर तामाङले बताउनुभयो ।
युनिसेफको ५ लाख ३८ हजार, गजुरी गाउँपालिकाको ५ लाख रुपैया, शान्ति नेपालको प्राविधिक सहयोग र समुदायको श्रमदान रु३ लाख ११ हजार ७ सय ८१ गरी जम्मा १३ लाख ४९ हजार ७ सय ८१ रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको शान्ति नेपालका परियोजना संयोजक राजेन्द्र चेपाङले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम वस्नेतले गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता आधारभूत आवश्यकता परिपूर्ति गर्न पालिका लागि परेको बताउनुभयो ।

नागरिक आफै पनि सक्रिय बन्नु पर्ने भन्दै यस्ता काम गर्न अग्रसर हुन आग्रह गर्दै बजेटको चिन्ता नलिन सुझाव दिनुभयो । जनप्रतिनिधि शासक नभएर सेवक भएका कारण जनताको सेवा गर्न तत्पर रहेको उहाँले बताउनुभयो ।
विकास गर्न हतार होइन दिगो विकासका विषयमा सोच्दै गाउँमा एम्वुलेन्स सेवा, बाटो, विजुली बत्ती जस्ता काममा पालिकाले योजना बनाएर अघि बढ्दै गरेको उहाँले बताउनुभयो । कार्यक्रममा वडा नम्वर ४ को वडाल अध्यक्ष सुरेन्द्र प्रजा, गाउँपालिकाको स्वकिय सचिव वसन्त दुवाडी, वडा सचिव तिर्थ दुवाडी, वडा सदस्य, पत्रकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।